April 17, 2026, Friday
२०८३ बैशाख ४

धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू, मुख्यमन्त्री कार्यालय घेराऊ

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानि धनगढीमा जेन-जीको आन्दोलन बिहानैदेखि सुरू भएको छ। धनगढीको कैलाली बहुमुखी क्याम्पस लगायतका शैक्षिक संस्थाका सयौँ विद्यार्थी सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरुले बिहानै देखि धनगढीको क्याम्पस चोक मूल सडक हुदै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्। उनीहरुले हिजो भएको दमनको बिरुदमा मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन ।

विद्यार्थीहरूले मान्छे मार्न पाइँदैन, भ्रष्टाचारी मुर्दावादलगायतका नारा लगाउँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलनले सामाजिक न्याय, पारदर्शिता र जबाफदेहिताको माग उठाएको छ।

हिजो बुधबार पनि धनगढीमा व्यापक संख्यामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए। जेनजी पुस्ताले विद्यार्थीमाथि भएको हत्या, सामाजिक बेइमानी, र चरम भ्रष्टाचारको विरोधमा देशभर आन्दोलन चर्काएका छन्।

आन्दोलनमा सहभागी एक विद्यार्थीले भने- ‘अब चुप लागेर बस्दैनौँ, दोषीलाई कारबाही नभएसम्म यो आन्दोलन रोकिँदैन, आवाज उठाउँला गोली हानेर मारेको छ, हामी चुप बस्दैनौँ, ।’

विद्यार्थीहरुले धनगढीको मुख्य सडकमा पनि आवागमन ठप्प पारेका छन् । रातोपुलदेखि प्रदेश प्रहरी कार्यालयसम्म आवागमन ठप्प रहेको छ। सामाजिक सञ्जाल बन्दको विरोधसंगै भ्रष्टाचार बेथितिविरुद्ध जेनजी पुस्ता आन्दोलनमा छ । आन्दोलनकै क्रममा सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।

धनगढीमा अहिले सम्म शान्तिपूर्ण आन्दोलन भइरहेको छ। सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। बिहानै मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई राखेर सुरक्षा स्थितिबारे छलफल गरेका थिए ।