May 3, 2026, Sunday
२०८३ बैशाख २०

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा कर्फ्यु, सुरु भयो जेन-जीको प्रदर्शन

काठमाडौँ : काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । जेन-जीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ  महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र  कर्फ्यु आदेश जारी गरेको छ ।  प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्युआदेश जारी गरेका हुन् । 

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कफ्र्यू आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेशअनुसार काठमाडौँ महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर  महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु  आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् । 

कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

भक्तपुरमा पनि बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो ।

सुरु भयो जेन-जीको प्रदर्शन

 सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन सुरु गरेका छन् । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् ।

नयाँ बानेश्वरस्थित ससद् भवन परिसरमा बिहानदेखि युवाहरु स्वस्फूर्त भेला हुन थालेका छन् । अहिले उनीहरुले कुनै ब्यानर बोकेका छैनन् । ‘हिजोको घटनामा सरकारको कमजोरी देखिएको छ । युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,’ एकजना युवाले भने ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । जेन–जीको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति लिँदा सोमबारको अप्रिय घटना भएको सत्तारूढ तथा विपक्षी दलका नेताहरूले बताएका छन्  भने सरकारको चौतर्फी आलोचना भइरहेको छ ।