९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’

काठमाडौँ : अमेरिकासहित ९ देशका दूतावासले जेन–जी प्रदर्शनमा भएको घटनाबारे शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । नेपालमा जेन–जी प्रदर्शनमा भएको घटनाबारे अमेरिकासहित ९ देशका दूतावासले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका हुन् ।
सोमबारको जेन–जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ ९ मुलुकका दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासहरू छन् ।
ुहामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं,ु विज्ञप्तिमा भनिएको छ।
दूतावासहरूले सोमबार भएको घटनाबारे दुस्ख पनि व्यक्त गरेका छन् ।’हामी काठमाडौं तथा नेपालका अन्य स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्छौं । यी घटनाका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकामा हामी संवेदनशील भएका छौं,’ उनीहरूले भनेका छन् ।
दूतावासहरूले पीडित परिवारजन र प्रभावित व्यक्तिहरूप्रति समवेदना प्रकट गर्दै घाइते सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।





प्रतिकृया दिनुहोस्