जेनजी प्रदर्शनमा देशभर १९ जनाको मृत्यु : ५ जनाको सनाखत, मृतकको संख्या बढ्दै

काठमाडौं : जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । सिभिलमा १००, ट्रमामा ५९, एभरेस्टमा १०२, केएमसीमा ३७, वीरमा ६ र पाटन अस्पतालमा ४, त्रिवि शिक्षणमा १८ जना, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ र दमक अस्पताल ७ जना उपचार भइरहेको छ ।
यस्तै, इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जना गम्भीर अवस्थाका छन् । ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले ट्रमामा १० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
भ्रष्टाचारका विरुद्ध ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।
ट्रमा सेन्टरमा मृत्यु भएका ५ जनाको सनाखत
सोमबार जेन-जीहरूको आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । ट्रमा सेन्टरका अनुसार ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, अन्दाजी २८/२९ वर्षीय गौरव जोशी र अन्दाजी २८/२९ वर्षकै स्टप अधिकारीको मृत्यु भएको छ ।





प्रतिकृया दिनुहोस्