May 3, 2026, Sunday
२०८३ बैशाख २०

जेनजी प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट दुई युवकको मृत्यु, तीनजना पत्रकार घाइत‍े

काठमाडौं : जेन-जी प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट दुई जनाको मृत्यु भएको छ। बानेश्वरस्थित संघीय संसद्‌ भवनबाहिर सडकमा घाइते भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएका दुई प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिएका हुन।

सिभिल अस्पतालका कार्यकारी निर्देशक रेग्मीले उपचारका क्रममा दुई जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, ‘अस्पतालमा दर्जनौं घाइते छन् ।’

बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो ।

प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार  उमेश कार्की र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका हुन्।

उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोलीको छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन्। पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’हरु प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारी,सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। अहिलेसम्म करिब एक सय भन्दा बढी घाइतेहरुको त्यहाँ उपचार भइरहेको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा करिब ३० जना घाइतेहरुको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

प्रदर्शन अनियन्त्रित भएपछि काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । मध्यान्ह १२ बजेटबाट राती १० बजेसम्मका लागि बानेश्वर क्षेत्र, सिंहदरबार, राष्ट्रपति निवास वरपर कर्फ्यू लगाइएको छ ।