सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा जेन-जी, सुरक्षा व्यवस्था कडा

काठमाडौँ : जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। सोमबार बिहान ९ बजेदेखि माइतीघर मण्डलमा भेला भएर जेनजीहरूले प्रदर्शन सुरू गरेका हुन्।
प्रदर्शनमा कलेजकै पोशाक र परिचय पत्रसहित विद्यार्थीहरू पनि उपस्थित छन्। भ्रष्टाचारविरूद्ध र सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा उनीहरू सडक प्रदर्शनमा आएका हुन्।
जेनजीहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन्। राजनीतिक दलका नेताहरूलाई प्रदर्शनमा नआउन भनेका छन्।
उनीहरूले प्रदर्शनमा ‘गाउँ-गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ लगायत गीतसमेत गाएका छन्। प्रदर्शनपछि कोणसभा र भाषणको कार्यक्रम नरहेको उनीहरूको भनाइ छ।
साथै उनीहरूले ‘सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार खुला’, ‘हामीलाई बोल्न दे सरकार’ जस्ता विभिन्न नारा लेखिएका प्लाकार्ड सहित प्रदर्शन गरेका छन्।
जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।
उच्च तहका अधिकारी परिचालन: माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्नेछन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइनेछन्।
अन्य सुरक्षा निकाय: सशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गर्नेछन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिनेछ।
प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन, तर काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने अनुमान छ। माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइने बताइएको छ।





प्रतिकृया दिनुहोस्