April 29, 2026, Wednesday
२०८३ बैशाख १६

एमाले विधान महाधिवेशन: आज टोली नेताहरुले सुझाव प्रस्तुत गर्ने, ओलीले जबाफ दिने

काठमाडौँ : नेकपा (एमाले)को जारी दोस्रो विधान महाविधेशनमा आज टोली नेताहरुले सुझाव प्रस्तुत गर्ने भएका छन्।

ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका हुन।

उनका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नुहुनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्।

यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन्।

समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ।

अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी  दिए।

शुक्रबार उद्घाटन भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका थिए। 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

ती प्रतिवेदनमा शनिबार छलफल भएको थियो। छलफलका लागि १० वटा समूह बनाइएको थियो।