May 3, 2026, Sunday
२०८३ बैशाख २०

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् । रवीन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३ औँ जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन ।

राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रूप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्य मान्यतालाई हाम्रो आचरण र जीवनशैलीका रूपमा आत्मसात् गर्दै मुलुक बनाउने अवसरमा रूपान्तरण गर्नुपर्ने बताए ।

उनले आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ–आफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्र र पत्रकारिता एक अर्काका पर्याय भएको बताउँदै व्यावसायिक पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने र लोकतान्त्रिक व्यवस्थामा मात्र पत्रकारिता जगतले आफ्नो व्यावसायिक धर्म निर्बाध निर्वाह गर्न पाउने बताए ।

उनले भने– ‘लोकतन्त्र र पत्रकारिताको यो अन्योन्याश्रित सम्बन्धको यही विशेषताले लोकतन्त्र र पत्रकारितालाई मजबुत बनाउँदै देशको आर्थिक विकास, सामाजिक रूपान्तरण र आम नागरिकको दैनिकी सहज बनाउन राजनीति र पत्रकारिता क्षेत्र समर्पित हुनुपर्दछ ।’

राष्ट्रपति पौडेलले राजेश्वर नेपालीलाई आफूले एउटा कट्टर लोकतन्त्र र राष्ट्रवादी व्यक्तिका रूपमा चिनेको उल्लेख गर्दै उनी निर्भीक पत्रकार, सादा जीवन र उच्च विचारका परिवर्तन प्रेमी प्रेरक व्यक्ति भएको बताए ।

राजेश्वर नेपालीले निरंकुशताबाट जनताको उन्मुक्तिका लागि जेननेलको कुनै प्रवाह नगरी एउटा कवि र कलमजीवीका रूपमा भाषा, साहित्य र संस्कृति मात्र होइन, मिसन पत्रकारितादेखि लोकतान्त्रिक मूल्य मान्यता एवम् आदर्शको लागि प्रेस र प्रजातन्त्र सेनानीका रूपमा आफूलाई उभ्याउन कहिँकतै नचुकेको राष्ट्रपति पौडेलको भनाई थियो ।