चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज बेइजिङ जाँँदै

थियानजिन (चीन) : चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार साँझ चीन भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विविध आयामबारे कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले व्यक्त गरे एससीओको पूर्ण सदस्य बन्ने चाहना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांघाई सहयोग संगठन(एससीओ)को पूर्ण सदस्य बन्न चाहेको बताएका छन् । चीनको तियानजिन सहरमा सोमबार ‘एससीओ प्लस’ बैठकलाई सम्बोधन गर्दै उनले नेपालले एससीओको पूर्ण सदस्य बन्ने अपेक्षा राखेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा पनि उक्त चाहना व्यक्त गर्दै त्यसका लागि सहयोगको आग्रह गरेका थिए ।
नेपाल एससीओको ‘डायलग पार्टनर’(संवाद साझेदार) देश हो । त्यही हैसियतमा ओलीले ‘एससीओ प्लस’ लाई सम्बोधन गर्दै उनले अब अझ एकीकृत, संगठित र सशक्त एससीओको आवश्यकतामा जोड दिए ।
जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू हिउँविनाको हुँदै गएको चर्चा गर्दै त्यसले तलतिरका अर्बौँ मानिसलाई प्रभावित बनाउँदै लगेको उनले उल्लेख गरे । आतंकवाद, साइबर आक्रमण, महामारी जस्ता संकटहरूले सीमा नमान्ने भएकाले हरेक परिस्थिति, भूरजानीति र आर्थिक चुनौतीको सामना गर्न सशक्त एससीओको आवश्यकतामा उनले जोड दिएका हुन् ।
क्षेत्रीय सहयोग र सहकार्यले नै साझा चुनौतीहरूको सामाना गर्न सकिने र त्यसका लागि नेपाल प्रतिवद्ध रहेको उनले उल्लेख गरे । अलगावबाट सम्पर्कतर्फ, टकरावबाट परामार्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फ मुख्य रूपमा यी तीनवटा बाटोमा विश्व बढ्नुपर्ने उनको भनाइ थियो ।
एससीओभित्रको क्षेत्रीय सहयोगप्रति नेपालको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय मञ्चहरूले वाचा गर्ने तर कार्यान्वयनमा न लैजाने व्यवहारलाई त्याग्नुपर्ने उल्लेख गरे ।





प्रतिकृया दिनुहोस्