April 17, 2026, Friday
२०८३ बैशाख ४

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि पुष्कर ओझाले गरे प्यानलसहित घोषणापत्र सार्वजनिक

धनगढी: कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझाले आफ्नो प्यानलसहित घोषणापत्र सार्वजनिक गरेका छन्। यही भदौ २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै ओझाले सोमबार धनगढीमा विशेष कार्यक्रमको आयोजनागरी प्यानल सहित १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।

“व्यवसायीको हित, सबल नेतृत्वको जीत” भन्ने मुल नारासहित ओझा समूहले धनगढीमा पत्रकार सम्मेलनमार्फत १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा उद्योग व्यवसायीलाई दुर्घटना बीमा सुविधा निःशुल्क उपलब्ध गराउने, विद्युत् तथा संकट प्रभावित व्यवसायीलाई राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, घर, पसल तथा गुदाममा सुरक्षा प्रणाली लागू गर्ने लगायतका कार्यक्रम समावेश छन्।

त्यसैगरी, उद्योग व्यवसायीलाई डिजिटलाइज गर्ने, कर प्रणाली सरलीकरणका लागि सरकारी निकायसँग सहकार्य गर्ने, व्यवसायीले भोग्नुपर्ने प्रशासनिक समस्यामा सुधार ल्याउने, पर्यटन, कृषि, औद्योगिक उत्पादनलाई प्रवद्र्धन गर्ने लगायतका योजनाहरू प्रस्तुत गरिएको छ।

घोषणापत्रमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै “मेडइन सुदूरपश्चिम” अभियान सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा “सुदूरपश्चिम एक्सपो” आयोजना गर्ने प्रतिबद्धता राखिएको छ। साथै, व्यवसायलाई आकर्षित गर्न भारत र नेपालका उद्योगी, लगानीकर्तालाई लक्षित गर्दै लगानी सम्मेलन गर्ने घोषणा पनि गरिएको छ।

प्यानलका उम्मेदवारहरूले आफ्नो घोषणापत्र व्यवसायीको आवश्यकता र समस्यालाई सम्बोधन गर्ने खालको रहेको दाबी गरेका छन्। उनीहरूले युवालाई उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत आत्मनिर्भर बनाउन योगदान गर्ने बताएका छन्।

ओझा प्यानलले व्यवसायीलाई निःशुल्क बीमा सुविधा, विद्युत् तथा संकट प्रभावित व्यवसायीका लागि राहत कार्यक्रम ल्याउने बताएको छ। घर–पसलमा सुरक्षा प्रणाली जडान गर्न तथा व्यवसायीलाई डिजिटलाइज गर्ने योजना ल्याउने ओझा प्यानले प्रतिबद्धता सार्वजनिक गरेको छ।

कुन पदमा को उम्मेदवार ? 

नयाँ कार्यसमितिका लागि पुष्कर राज ओझाको नेतृत्वमा प्यानल खडा गरिएको छ। प्यानलमा वरिष्ठ उपाध्यक्षमा ओम बहादुर बिष्ट, उपाध्यक्ष उद्योग तर्फ वासुदेव भट्ट, उपाध्यक्ष एसोसिएट तर्फ मनोज अग्रवाल, उपाध्यक्ष वाणिज्य तर्फ गगनराज केसी, उपाध्यक्ष वस्तुगत तर्फ भीमराज ओझा अबु महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कडायत र सचिवमा कृष्ण कुमारी बिष्टको उम्मेदवारी रहने भएको छ।

ओझा प्यानलमा सदस्यमा अजय पाण्डेय, सुरेश सापकोटा, बम बहादुर कुँवर, ध्रुबराज दाहाल, कमला भट्टराई, पदमबहादुर सिंह, प्रजापति जोशी, रेखा बास्तोला, सुरज बहादुर रैका, तर्कराज भट्ट, टेकबहादुर खड्का, अनुप भण्डारी र बिन्दु सुनारको नाम समावेश गरिएको छ।

घोषणापत्रका १५ प्रमुख प्रतिबद्धता

घोषणापत्रमा व्यवसायीको सुरक्षा, पारदर्शिता, सहकार्य, डिजिटलाइजेसन र स्थानीय उत्पादन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको बताउदै ओझाले प्यानल घोषणा गर्दै भने, “हामी युवाको उत्साह, अनुभवी व्यवसायीको ज्ञान र इमान्दार नेतृत्वको संयोजन हौं। उद्यमशीलता, समृद्धि र सुरक्षाको बाटोमा सबै व्यवसायीलाई साथ लिएर अघि बढ्ने हाम्रो उद्देश्य हो।”

ओझा समूहले आफ्नो घोषणापत्रमा व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गर्ने, युवा र महिला उद्यमशीलतालाई प्राथमिकता दिने तथा जिल्लाका सबै नगर उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै नेतृत्वकारी भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेको छ।कार्यक्रममा सहभागी व्यवसायी तथा सरोकारवालाले घोषणापत्रलाई व्यवसायमैत्री, समय सान्दर्भिक र व्यावहारिक प्रतिबद्धता भएको भन्दै स्वागत गरेका छन्।

यस अघि हिजो आइतवार रुपेस स्वाँरको प्यानलले उम्मेदवारी घोषणा गरेको थियो । स्वाँर प्यानल बाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन्। उनी वर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन्।

स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द स्वाँर प्यानलबाट उम्मेदवार रहेका छन्।

सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन्।