May 3, 2026, Sunday
२०८३ बैशाख २०

सुदूरपश्चिम प्रदेशका नेताहरूलाई प्रचण्डले भने- आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशका नेताहरूलाई आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई निर्देशन दिएका हुन् । 

पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राख्दै प्रचण्डले पछिल्लो समय जनतामाझ माओवादी केन्द्रले फेरि विश्वास हासिल गरिरहेको बताए । 

तर, त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो । केन्द्रीय गतिविधिका कारण आफू भर्चुअलमार्फत् सहभागी हुनुपरेको भन्दै उनले दशैँपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर सुदूरपश्चिम प्रदेशमै पुगेर प्रत्यक्ष संवाद गर्ने पनि बताए ।

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । ‘अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ,’ उनले भने । 

अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि र त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए । 

‘हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ,’ उनले भने, ‘अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरूरी छ ।’