May 1, 2026, Friday
२०८३ बैशाख १८

प्रधानमन्त्री ओली चीन प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् । 

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन् ।

प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीन प्रस्थान गरेसंगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणका लागि  त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।