April 17, 2026, Friday
२०८३ बैशाख ४

लागूऔषधसहित कैलालीमा पाँच जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकहरुको साथबाट ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। विशेष सूचनाका आधारमा लागूऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका बिर बहादुर रावलको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, कैलाली चुरे गाउँपालिका–३ बाट मोहन मल्ललाई शंका लागि चेकजाँच गर्दा उनको मोबाइलको खोलभित्र लुकाइराखेको ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रहरीले धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित जयराम होटल एण्ड लज रेष्टुरेन्टमा छापा मार्दा सो होटलका सञ्चालक राम बोहराको साथबाट ५ किलो ६९० ग्राम चरेश फेला पारी बरामद गरेको छ।

यस्तै, धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट प्रहरीले दुई जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ। विजय विक र प्रदीप रानाको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।