सुदूरपश्चिममा लगानी आकर्षणका लागि परराष्ट्रमन्त्री राणा र मुख्यमन्त्री शाहले गरे संयुक्त आह्वान

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अन्तर्राष्ट्रिय समुदायलाई सुदूरपश्चिम प्रदेशमा आत्मविश्वासका साथ लगानी गर्न आग्रह गरेकिछिन्। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलन सम्बन्धी छलफल कार्यक्रममा उनले प्रदेशमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहभागी हुन आह्वान गरेकि हुन्।
छलफलमा परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकार सधैं तत्पर रहेको बताइन् । आफू पनि सुदूरपश्चिमको प्रतिनिधि भएको भन्दै उनी अन्तर्राष्ट्रिय समुदायलाई त्यहाँ लगानी गर्न आग्रह गरिन् ।
‘सुदूरपश्चिम प्रदेशमा प्रशस्त सम्भावना रहेका छन्, म पनि त्यहाँकी प्रतिनिधि हुँ,’ परराष्ट्रमन्त्री राणा देउवाले भनिन्, ‘संघीय सरकार सुदूरपश्चिमको विकास र समृद्धिका लागि प्रतिबद्ध छ, तपाईंहरूले ढुक्क भएर लगानी गर्नुहोस् ।’
शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेशमा २२ वटा पुल बनेको स्मरण गराउँदै उनले कांग्रेस अहिले पनि देश र प्रदेशको विकासका लागि लागिरहेको बताईन्।
छलफल कार्याक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना रहेको भन्दै सबैलाई लगानीको आग्रह गर्नु भएको थियो ।
‘हामीसँग सीमित पूर्वाधार, न्यून लगानी, रोजगारीको सीमित अवसर जस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीलाई अवसरमा बदल्नका लागि हामीले वैकल्पिक सोच, साझेदारी र दिगो लगानीलाई प्राथमिकता दिएका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेशको सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उजागर गर्नु छ । हामी त्यो प्रयासमा छौँ । सबै निकायलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गर्दछौँ ।’
मुख्यमन्त्री शाहले निजी क्षेत्र र विकास साझेदार संस्थासँग सहकार्य बलियो बनाउँदै लगानी भित्र्याउने गरी प्रदेश सरकार लागिरहेको बताए ।
‘आवश्यक नीति तथा संस्थागत सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु र ठोस परियोजनाहरूलाई अगाडि बढाउनु हाम्रो दायित्व हो,’ मुख्यमन्त्री शाहले भने, ‘सम्मेलनमा पूर्वाधार, पर्यटन, कृषि, औद्योगिक विकास, ऊर्जा, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रका प्राथमिक परियोजनाहरू प्रस्तुत गरिनेछ ।’
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालमा कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, संयुक्त राष्ट्र संघका प्रतिनिधि तथा विकास साझेदार संघ–संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीहरू सहभागी थिए । उनीहरूले लगानी सुदूरपश्चिममा लगाउन आफूहरू तयार रहेको भन्दै नीतिगत विषयमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।
मंसिर १ र २ गते सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन हुँदैछ ।




प्रतिकृया दिनुहोस्