April 17, 2026, Friday
२०८३ बैशाख ४

खुटिया खोलामा हराएका जुम्ल्याहा दाजुभाइसहित चार किशोर एकैसाथ अस्ताए

धनगढी : कैलालीको खुटिया खोलामा डुबेर वेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–९, सेहरी झोलुंगे पुल नजिक खुटिया खोलामा बिहीबार दिउँसो जुम्ल्याहा दाजुभाइसहित चार किशोर मृत अवस्थामा फेला परेका हुन्।

साथीको जन्मदिन मनाउन गएका सात किशोरमध्ये चार जनाले खुटिया खोलामा डुबेर ज्यान गुमाएको प्रहरीले जनाएको हो। मृतकमध्ये धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारी जुम्ल्याहा हुन् । जोयल भण्डारी र क्रान्ति भण्डारीका जुम्ल्याहा दुई सन्तान थिए । दुबै जनाको जीवन पनि एकैसाथ खुटिया खोलामा अस्तायो । यो असह्य पीडाले भण्डारी परिवारमात्र होइन, पूरै धनगढी शोकमा डुबेको छ ।

प्रहरीको विवरण अनुसार भण्डारीसँगै मृत्यु हुनेमा धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरी रहेका छन् । उनीहरुमध्ये तीन जना वाल्मीकि इन्टरनेसनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए ।

घटनास्थलमै पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दिउँसो साढे १२ बजेतिर किशोरहरू नदीमा पसेका थिए । खोलाको बेगसँगै विपत्तिमा परेका उनीहरूको शव स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा करिब चार घण्टापछि, अपराह्न ४ बजे फेला परेको थियो ।

डीएसपी चन्दले भने, ‘सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको देखिन्छ । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।

समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ