April 17, 2026, Friday
२०८३ बैशाख ४

अझै बनेन सुदूरपश्चिम प्रदेशमा विपत् प्रतिकार्य योजना

धनगढी : सुदूरपश्चिम प्रदेशको विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । यस वर्षको मनसुन सिजन उत्तरार्धतर्फ लागे पनि प्रदेश सरकारले अझैसम्म विपत् प्रतिकार्य योजना बनाउन नसकेको हो ।

प्रदेशवासीलाई मनसुनजन्य विपत्बाट जोगाउन, विपत्को बेला उद्धार, खोज, राहत, पुनस्र्थापनालगायत कार्य गर्नका लागि हरेक वर्ष सकेसम्म मनसुन अगावै विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ । तर बाढीपहिरो जस्ता प्राकृतिक विपत्को उच्च जोखिम रहेको यस प्रदेशमा विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ भइरहेको छ ।

मन्त्रालयका सचिव सरुवालगायतका कारणले विपत् प्रतिकार्य योजना स्वीकृत गर्न ढिलाइ भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उपसचिव आमोद दाहालले बताउछन् । “विपत् प्रतिकार्य योजनाको सबै डकुमेन्ट तयार भएको छ,” उनले भने, “तर स्वीकृत भएको छैन । यो बिचमा सचिव सरुवालगायतका कारणले केही ढिलाइ भइरहेको छ ।”

मन्त्रालयले साउनको सुरुवातमै विपत् प्रतिकार्य योजना तयार पारेको जनाएको थियो । यद्यपि स्वीकृत भने अझै हुनसकेको छैन । अबको एक हप्ताभित्रै स्वीकृत हुने प्रवक्ता दाहालले दाबी गरे ।

सुदूरपश्चिम प्रदेशमा यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको थियो तर त्यस्तो वर्षा अहिलेसम्म भइसकेको छैन । प्रक्षेपण गरिए अनुसार वर्षा नभएपछि मनसुनजन्य विपत्को सामना पनि विगतको जस्तो गर्नु परेको छैन । पानी नपरेपछि किसानले धान खेतमा बोरिङले सिँचाइ गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर बाढी विपत्को उच्च जोखिममा रहेको छ । यहाँ बर्सेनि बाढीले जनधनको क्षति गर्दै आएको छ । यसै गरी पहाडी सात जिल्लामा बाढीपहिरोको समस्या रहेको छ ।