April 28, 2026, Tuesday
२०८३ बैशाख १५

राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता, कांग्रेस शीर्ष नेताहरू उम्मेदवार छान्न बैठकमा

काठमाडौँ : सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्दैछ । 

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ । 

मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने कार्यतालिकामा उल्लेख छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका छ ।

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिँदा खाली छ । सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन गरेर नयाँ सभापति चुन्न लागिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति दलहरूबिच भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन । त्यसका लागि कांग्रेसका शीर्ष नेताहरूको बैठक केही बेरमा सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा बैठकका लागि सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोलाइएको पौडेलले जानकारी दिए ।

कांग्रेस बैठकले संघीय संसद् सचिवालयले समिति सभापतिका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूचीको बेलासम्म उम्मेदवार तय गर्ने उपसभापति पूर्णबहादुर खड्काले बताए । ‘अहिले शीर्ष नेताहरूको बैठक सभापतिले बोलाउनु भएको छ । त्यही बैठकले समिति सभापतिको उम्मेदवार तय गर्छ,’ उपसभापति खड्काले भने ।

देउवाले समिति सभापतिको उम्मेदवार सोमबार बिहान १० बजे बैठक आह्वान गरेका थिए । त्यो बैठक स्थगित गरेर दिउँसो दुई बजेलाई सारेका थिए । त्यो बैठकले उम्मेदवार तय गर्न सकेको थिएन । 

समिति सभापतिका लागि कांग्रेस सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको पनि नाम चर्चामा छ ।