‘सबै अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा तीजले उत्साह देओस्’

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सिर्जनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्धन गर्नु आवश्यक रहेको बताएका छन् ।
नेपाली हिन्दु महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गरेका छन् ।
यस पर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।
परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । ‘महिलाविरुद्ध हुन सक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
राष्ट्रपति पौडेलले तीजले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गरेका छन् ।





प्रतिकृया दिनुहोस्