April 17, 2026, Friday
२०८३ बैशाख ४

कैलाली कारागारमा फेरी एक थुनुवाको मृत्यु, घाइते सात कैदीबन्दी स्थानान्तरण

धनगढी : कैलाली कारागारमा फेरी एकजना थुनुवाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार स्वास्थ्यमा समस्या भएपछि चौधरीलाई २ बजे सेती प्रादेशिक अस्पताल पुगाइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चौधरीलाई साउन २९ गते जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका चौधरीसहित तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

यसअघि बैंकिङ कसुरमा दोषी ठहर भएर कैलाली कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिसिंह पालीको असार २ गते शंकास्पद मृत्यु भएको थियो । यस्तै साउन २३ गते राति कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो ।

घाइते थप सात कैदीबन्दी स्थानान्तरण

कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ । कारागारले आज चार जनालाई डडेल्धुरा कारागार र तीन जनालाई डोटी कारागारमा स्थानान्तरण गरेको हो । कारागारले यसअघि, तीन जनालाई कञ्चनपुर, एक जनालाई नवलपरासी र तीन जनालाई काठमाण्डौं स्थानान्तरण गरेको थियो । 

हालसम्म १४ कैदीबन्दीलाई स्थानान्तरण गरिसकेको कारागारका जेलर प्रकाश ढुङ्गानाले जानकारी दिए । उनले थप अरु पनि कैदीबन्दी स्थानान्तरणको प्रक्रियामा रहेको बताए । गत साउन २३ गते मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए । 

घाइते कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले उपचार पश्चात डिस्चार्ज गरिसकेको छ । डिस्चार्ज गरिएका सबै कैदीबन्दीलाई कारागारमा नपठाइ कोरोना अस्पतालमा राखिएको छ ।