कांग्रेस पदाधिकारी बैठक बस्दै, राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बोलाइएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिएका हुन ।
गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएकाे बुझिएको छ ।





प्रतिकृया दिनुहोस्