लापरबाहीका कारण एसइई नतिजामा त्रुटि

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले गत महिना प्रकाशन गरेको कक्षा १० (माध्यमिक शिक्षा परीक्षा-एसइई) को नतिजामा गम्भीर त्रुटि भएको पाइएको छ। प्रकाशित नतिजामा चित्त नबुझेका कारण २७ हजार तीन सय १५ विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएपछि त्यसमाथि छानबिन गर्ने क्रममा गम्भीर त्रुटि भएको पाइएको हो।
पुनर्याेगका लागि प्राप्त आवेदनमध्ये मंगलबारसम्म २७ हजार आठ जनाको नतिजा सार्वजनिक गरिसक्दा आठ सय ६० जनाको ग्रेडमा हेरफेर भएको छ। तीमध्ये पहिला ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका दुई सय ६७ जनाले उत्तीर्ण भएर विभिन्न ग्रेड प्राप्त गरेका छन्।
बोर्डले अझै तीन सय सात जनाको नतिजा प्रकाशन गर्न बाँकी छ। यसबाट उत्तीर्णको संख्या अझ बढ्न सक्ने देखिएको बोर्डको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उनले लापरबाहीका कारण नतिजामा त्रुटि देखिएको बताए।
‘नतिजाको प्रकृति विश्लेषण गर्दा उत्तरपुस्तिका परीक्षणका क्रममा भित्र राखिएको अंक उत्तरपुस्तिकाबाहिर पोस्टिङ गर्न छुटेको, कतिपयमा काउन्टिङ नै नगरिएको, बोर्डका प्राविधिकले तथ्यांक इन्ट्री गर्ने क्रममा पनि त्रुटि गरेको जस्ता लापरबाही देखिएका छन्। कतिपय अवस्थामा मार्किङ गर्न पनि छुटेको देखियो,’ परीक्षा नियन्त्रक अधिकारीले नागरिकसँगको भेटमा भने, ‘अनुत्तीर्ण दुई सय ६७ विद्यार्थी पुनर्योगबाटै उत्तीर्ण भइसकेका छन्। एसइईको नतिजा विद्यार्थीको भविष्यसँग जोडिएकाले सबैले संवेदनशील बन्नैपर्छ।’
मंगलबारसम्मको नतिजा अनुसार पुनर्योगबाट ३.२६ प्रतिशत विद्यार्थी माथिल्लो ग्रेडमा उक्लिएको देखिएको छ। चार लाख ३८ हजार आठ सय ९६ विद्यार्थीले एसइई दिएका थिए। तीमध्ये दुई लाख ७१ हजार दुई सय ९९ अर्थात् ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका थिए भने एक लाख ६७ हजार पाँच सय ९७ विद्यार्थीले ननग्रेडेड अर्थात् न्यूनतम ३५ अंक प्राप्त गर्न नसकी अनुत्तीर्ण भएका थिए। पुनर्योगका लागि प्रतिविषय पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। परीक्षार्थीमध्ये ८० प्रतिशत सार्वजनिक विद्यालयका विद्यार्थी भएकाले सबैले पुनर्योगका लागि अवोदन दिने अवस्था नरहेको पनि स्पष्ट छ। यसकारण परीक्षा बोर्ड र उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षक र सम्परीक्षक संवेदनशील बन्नुपर्ने देखिन्छ।
नतिजामा चित्त नबुझे परीक्षार्थीले पुनर्योग गर्न सक्छन्। यसबाट पनि चित्त नबुझे उत्तरपुस्तिका हेर्न सक्ने व्यवस्था छ। यसका लागि प्रतिविषय एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसबाट पनि चित्त नबुझे विद्यार्थीले दुई हजार रुपैयाँ तिरेर विज्ञबाट पुनः परीक्षण गराउन सक्ने व्यवस्था बोर्डले गरेको छ।
आजदेखि पूरक परीक्षा
साउन २९ गतेदेखि सुरु हुने पूरक परीक्षामा एक लाख ४२ हजार आठ सय ५३ विद्यार्थी सहभागी हुँदै छन्। देशभरिका चार सय ६९ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिनेछन्। भदौ ६ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी अनिवार्य गणित विषयका भएको परीक्षा नियन्त्रक अधिकारीले बताए।
गणितमा एक लाख ७६ हजार एक सय ७० विद्यार्थीले पूरक परीक्षा दिँदै छन्। सामाजिक शिक्षामा एक लाख १६ हजार ५५ र अंग्रेजीमा एक लाख १४ हजार ६ सय ६८ जनाले पूरक परीक्षा दिँदैछन्। यसैगरी अनिवार्य विज्ञान तथा प्रविधि विषयमा एक लाख सात हजार नौ सय १८ र नेपालीमा ७४ हजार आठ सय ५० विद्यार्थीले पूरक परीक्षा दिँदैछन्।
‘अझै पनि हाम्रो पाठ्यक्रमले गणित, अंग्रेजी, सामाजिक र विज्ञान विषयका विद्यार्थीको सिकाइ उपलब्धि स्तरीय बनाउन सकेको छैन। विगतदेखि नै यी विषयहरूमै विद्यार्थी धेरै फेल हुँदै आएका छन्,’ परीक्षानियन्त्रक अधिकारीले भने, ‘विद्यार्थीको जीवनसँग जोडिएर शिक्षण सिकाइ हुन सके मात्र सिकाइ उपलब्धि स्तरीय बन्छ। नतिजा राम्रो आउँछ। पूरक परीक्षाले विद्यार्थीको शैक्षिक सत्र खेर जानबाट बचाउँछ। पूरक परीक्षामा पास हुनेले कक्षा ११ यसै शैक्षिक सत्रमा पढ्न पाउँछन्। पूरक परीक्षामा सातै विषय अनुत्तीर्ण भएकाहरूले पनि सहभागिता जनाउन पाउने व्यवस्था छ।’
नमागरिबाट
प्रतिकृया दिनुहोस्