May 3, 2026, Sunday
२०८३ बैशाख २०

देशभर आगामी २४ घण्टा मनसुन सक्रिय रहने, आज यी स्थानमा भारी वर्षा

काठमाडौँ : आगामी २४ घण्टा मनसुन सक्रिय रहने भएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले देशभर साधारणतया बदली र मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मधेस, ‍बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

पछिल्लो एक घन्टामा दार्चुलाको गोकुलेश्वरमा  २३.४ मिलिमिटर वर्षा भएको छ। बाजुराको ओलेनामा १९.८ मिलिमिटर, नुवाकोटको त्रिशूलीमा १८.४ मिलिमिटर, नवलपरासीको बर्दघाटमा ११ मिलिमिटर वर्षा भएको छ।

बुधबार देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा पूर्णतया बदली रहनेछ। बाँकी भू–भागमा साधारणतया बदली रहनेछ। 

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा लुम्बिनी प्रदेशको तराईको भू–भागको थोरै स्थानहरू, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास रहेको र नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीहरू को बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

बुधबार इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

1
2