बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै, बहादुर पक्षले गर्यो विश्वासको मत सार्न प्रस्ताव

बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आज अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएको छ। तर मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न कांग्रेसको असन्तुष्ट पक्षले प्रस्ताव गरेको छ ।
आन्तरिक विवाद समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियालाई कांग्रेसको बहादुरसिंह लामापक्षले आग्रह गरेको जनाइएको छ। आफ्ना मागहरू सम्बोधन नगरी विश्वासको मत नदिने पक्षमा उभिएको उक्त समूहले तत्काल विश्वासको मत सम्बन्धी प्रस्तावलाई अगाडि नबढाउन आग्रह गरेको हो ।
पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने तयारी भइरहेको तर आन्तरिक विषयहरू समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियाँलाई उनीहरूको आग्रह छ।
निवर्तमान मुख्यमन्त्री लामा नेतृत्वको समूहले पार्टीको निर्देशन अनुसार चल्न तत्काल सम्भव नरहेको जनाएको छ। आफ्ना अडानहरू यथावत् रहेकाले मुख्यमन्त्री बानियाले अविश्वास प्रस्ताव तत्काल अगाडि नबढाउन आग्रह गरेको हो। निवर्तमान मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न र आन्तरिक विषयहरू समाधान गर्न आग्रह गरिएको बताए ।
उनका अनुसार केहीबेरमा बैठक बसेर आफ्ना अडान र विश्वासको मत विषयमा निर्णय गरिने छ । बैठकका लागि केहीबेरमा सबैलाई जानकारी गराइने र सो पश्चात् ठोस निचोड निस्कने उनको भनाइ छ । अपमानित भएर पार्टीको निर्देशन मान्ने सोचमा साथीहरू नरहेको उनेले बताए ।
‘हामीले हाम्रो विषय राखिसकेका छौं । सो विषयमा पार्टी सभापति शेरबहादुर देउवाले पनि मिलाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टीको निर्देशन अनुसार चल्नुपर्छ भन्ने मान्यता हो । तर साथीहरू मानिरहनु भएको छैन ।’ उनले भने, ‘उहाँहरु आफूलाई अपमान गरेको महसुश गरिरहनु भएको छ । त्यसैले विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न प्रस्ताव गरिएको हो। उक्त विषयमा आफ्नो समूहको बैठक बसेर निर्णय लिनेछ ।’
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाबाट विश्वासको मत लिने गरी प्रदेश सभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयसमक्ष जानकारी गराएका थिए।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधार ४ तथा प्रदेशसभा नियमवाली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव अघि बढाएका हुन्।
यसैबीच सत्तारुढ कांग्रेस र एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। कांग्रेस संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जन र एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले सूचना जारी गरी प्रदेशसभाको आजको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन्।





प्रतिकृया दिनुहोस्