May 3, 2026, Sunday
२०८३ बैशाख २०

मानवअधिकार आयोगलाई रविले सुनाए मुख्य ३ गुनासा, कारागारमा के-के छ सुविधा ?

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगको टोलीसित रास्वपा सभापति रवि लामिछानेले प्रमुख तीन गुनासो गरेका छन् । कारागार र कैदीबन्दीको अवस्था निरीक्षण गर्न पुगेको आयोगको टोलीसितले कारागारमा रहेका लामिछानेसँग समेत कुराकानी गरेका थिए ।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारको ४ नम्बर ब्लकमा छन् । आयोगको टोलीसित कुराकानीका क्रममा लामिछानेले बसोबास र खानाको व्यवस्था राम्रो भए पनि एक सय दिनसम्म स्वच्छ हावामा हिँडडुल गर्न नपाएको बताएका थिए । लामिछानेले अदालतले अनुमति प्रदान गरिसकेको कारागार स्थानान्तरणको विषय रोकिएकामा आयोगको ध्यानाकर्षण गराएका थिए । यसबारे आयुक्त थापाले पनि चासो दिइन् ।

लामिछानेलाई ठाउँसारी नगर्नुको कारणबारे आयोगको गम्भीर ध्यानाकर्षण भएको थापाको भनाइ थियो । काठमाडौं गएपछि कारागार व्यवस्थापन विभागमा पुगेर यसबारे छलफल गर्ने थापाले प्रतिबद्धता जनाइन् ।

लामिछानेलाई राखिएको ब्लकका झ्याल प्लाइउडले टालिएका छन् । ती झ्यालका प्लाइउड हटाएर हावा छिर्ने वातावरण बनाउनुपर्ने आयुक्त थापाको भनाइ छ । आफूले ध्यानाकर्षण गराएपछि कारागार प्रमुख सुरेश भण्डारीले झ्यालबाट प्लाइउड हटाउने बताएको उनले जानकारी दिइन् ।

‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी गर्‍यौ । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ’, थापाले भनिन्, ‘प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’

उनले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको बताइन् ।  ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूको पनि हालत उस्तै रहेछ ।’

यसबाहेक लामिछानेले कानुनी प्रक्रियाका लागि आफूलाई भेट्न आउने व्यक्ति, शुभेच्छुक र कार्यकर्तासित भेटघाटमा सहजता नभएको बताएका थिए । कारागारमा दैनिक पत्रपत्रिका नआउने भएकाले नियमित पढ्न नपाएको लामिछानेले गुनासो गरेका थिए ।

आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितले कारागार निरीक्षण गरेका थिए ।

आयुक्त थापाले काराागारभित्र शौचालयको अवस्था नाजुक रहेको पाइएको बताइन्। उनका अनुसार रवि रहेको कोठामा रेडियो छ। तर पत्रपत्रिकाको भने सुविधा छैन। कारागार पुगेर अनुगमन गरेर फर्केपछि संचारकर्मीहरूसँग कुरा गर्दै आयुक्त थापाले लामिछाने राखिएको कोठामा दुईवटा पंखा राखिएको बताइन् ।

लामिछाने रहेको कोठामा एसी जडान गरिएको बिषय सार्वजनिक भएपनि अनुगमन टोलीले भने त्यस्तो नरहेको बताएको छ । आयुक्त थापाले लामिछाने रहेको ब्लकमा एसी जडान नगरिएको बताइन्।

आयुक्त थापाले लामिछानेलाई सय दिनसम्म बन्दी कक्षबाट बाहिर हिडडुल गर्न नदिएर मानवअधिकारको हनन् गरिएको बताइन् । उनले कारागार व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै झ्याल थुनेको बिषय पनि उठाइन् । लामिछानेले स्वच्छ हावामा हिडडुल गर्न नपाएको भन्दै उनले न्युनतम मानव अधिकार पनि हनन गरिएको बताइन् ।