May 3, 2026, Sunday
२०८३ बैशाख २०

कांग्रेस-एमालेको उच्चस्तरीय बैठक बालुवाटारमा

काठमाडौं : सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच उच्चस्तरीय बैठक बसेको छ । प्रधामन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट फर्किएको भोलिपल्टै बालुवाटारमा सत्तारुढ दुई दलबीच उच्चस्तरीय बैठक बसेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीसँग ओलीले अनौपचारिक छलफल गरेका हुन् । आजको भेटमा प्रधानमन्त्री ओलीले गरेको विदेश भ्रमणको समिक्षा गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बगजाईंले जानकारी दिए । भेटघाटका अन्य राजनीतिक विषयवस्तु नरहेको उनको भनाइ छ ।

सभापति देउवाका साथमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र कांग्रेस नेता पूर्णबहादुर खड्का समेत थिए । यस्तै ओलीसँग अर्थमन्त्री बिष्णु पौडेल र प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

आइतबार बिहान प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानबाट फर्किए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले भेटमा तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका कुराहरूबारे जानकारी गराएका थिए। साथै उनीहरूबीच समसामयिक अन्य विषयमा पनि कुराकानी भएको थियो।