April 29, 2026, Wednesday
२०८३ बैशाख १६

आज देशभर मनसुनको प्रभाव रहने, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ।