May 3, 2026, Sunday
२०८३ बैशाख २०

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँ नियुक्त, को हुन् बानियाँ ?

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको सपथसमेत ग्रहण गरिसकेका छन् । 

मुख्यमन्त्री पदमा कांग्रेस सांसद बानियाँले मात्रै दाबी पेस गरेका थिए। नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका बानियाँलाई मंगलबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा २ अनुसार बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ।

नेपाली कांग्रेसकै बहादुर सिं लामा तामाङ यसअघि मुख्यमन्त्री थिए। तामाङले कांग्रेस संसदीय दल नेताको हैसियत गुमाएपछि बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री नियुक्त भएका हुन्।

संघीयता कार्यान्वयनपछि बानियाँ बागमतीले पाएको छैटौँ मुख्यमन्त्री बनेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट उनी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बन्न बानियाँले आफ्नै दलका बहादुर सिंह लामालाई संसदीय दलका नेतामा अविश्वास प्रस्ताव राखेर पदच्युत गरेका थिए ।  उनीसँग प्रतिस्पर्धामा रहेका प्रदेशमा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले १४ मत प्राप्त गरे । कुल ३७ सांसद रहेको कांग्रेस बागमतीमा एक मत भने बदर भएको थियो । दलको नेतामा २२ मतसहित निर्वाचित भएका बानियाँ कांग्रेस बागमती प्रदेश सभापतिसमेत हुन् ।

baniya

२०२७ साल भदौ १५ गते हर्नामाडी–४ दियावती, मकवानपुरमा जन्मिएका बानियाँ हाल हेटौंडा–५ सानोपोखरा र ललितपुर, धापाखेल–१ मा बस्छन् । स्व. क्षेमबहादुर बानियाँ, प्रेमकुमारी बानियाँका पुत्र बानियाँ मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् । 

बानियाँ ०४४ सालदेखि राजनीतिमा होमिएका हुन् । ०४६ मा नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस उपसभापति, ०५१ मा कांग्रेस महाधिवेशन प्रतिनिधि, ०५२ मा नेपाल विद्यार्थी संघ, मकवानपुर जिल्ला सहसचिव, ०५५ मा नेपाल तरुण दल, मकवानपुर जिल्ला सचिव, ०५६ सालमा नेपाल तरुण दल, मकवानपुर जिल्ला अध्यक्ष भएर काम गरेका थिए । 

२०५६ सालदेखि निरन्तर हालसम्म महासमिति सदस्य, ०५८ सालमा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य, ०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार बनेका उनी पराजित भएका थिए । मकवानपुरका तत्काली चार वटा निर्वाचन क्षेत्रमध्ये बानियाँले क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । सोही क्षेत्रबाट ०७० मंसिर ४ गते भने प्रत्यक्षतर्फबाट संविधानसभा सदस्य निर्वाचित भएका बानियाँ ०७२ माघ २५ देखि ०७८ मंसिरसम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापति रहे । 

२०७३ मंसिर १५ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री, ०७३ फागुन ३० गते नेपाल सरकारको गृह राज्यमन्त्री भएका उनी २०७४ मा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को (ख) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

२०७४ पुस ३ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता सर्वसम्मत निर्वाचित भएका उनी ०७८ मंसिर २० गते कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित भए । २०७९ मंसिर ७ गते मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को (ख) बाट पुनः प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ ०८२ साउन १४ गते कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता निर्वाचित भएका थिए ।

उनी २०७० सालमा संविधान सभा सदस्य, कांग्रेस मकवानपुर सभापति, २०७४ मा पर्यटन राज्यमन्त्री र गृहराज्यमन्त्री तथा बागमती प्रदेश सभा सदस्य, कांग्रेस बागमती प्रदेश सभापतिलगायत भइसकेका छन्।