बाढी-पहिरो जोखिम : तत्काल कदम चाल्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन अपिल गरेका छन्।
प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत नदी किनार, डुबान हुने होचो भू-भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।
देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएपछि प्रचण्डले विपद् व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि सरकारलाई तत्काल कदम चाल्न अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ। नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला। साथै, विपद् पूर्व-व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्दछु।’
प्रचण्डले पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल समेत गरेका छन् ।





प्रतिकृया दिनुहोस्