पोलिटब्युरो बैठकमा ओलीले भने : पूर्वराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय हो

काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् ।पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्व लिन तयार रहेको बताएपछि ओलीको औपचारिक रुपमा यो धारणा आएको हो ।
‘गरिमामाय पदमा पुगेको व्यक्ति, गणतन्त्रको प्रतीक पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय गम्भीर हो,’ उनले शुक्रबार पोलिटब्युरो बैठकमा भने, ‘यसमा पार्टीले उचित समयमा निर्णय गर्ने छ ।’
उनले भण्डारी सल्लाह नगरी राजनीतिमा आएको उल्लेख गर्दै छलफल गरे टुंगोमा पुग्ने बैठकमा बताए । ओलीले दिशानिर्देश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउने कुरा पार्टीले नठानेको र नमानेको बताएका थिए । भण्डारीलाई एमालेको नेतृत्व दिन नसकिने समेत उनको तर्क थियो ।
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।
शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।





प्रतिकृया दिनुहोस्