May 3, 2026, Sunday
२०८३ बैशाख २०

नेकपा एस र नेकपा राएअ पार्टी बिच एकताको घोषणा, वामदेवले भने- म आन्दोलनबाट आएको नेता हुँ

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो।

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् । उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका हुन्।

शुक्रबार एकीकृत समाजवादीसँगको एकता सभा घोषणमा नेता वामदेव गौतमले आवश्यक परे फेरि आन्दोलनमा होमिन तयार भएको बताएका छन् । गौतमले आफू आन्दोलनबाट आएको नेता भएकाले फेरि आन्दोलन गर्न तयार भएको बताएका हुन् ।

‘आवश्यक परे यी हात अहिले पनि हतियारका रूपमा प्रयोग गर्छु । म आन्दोलनको व्यक्ति हुँ । आन्दोलनको नेता हुँ । मैले गरेको आन्दोलन अहिलेसम्म असफल भएको छैन, सफल मात्र भएको छ । हामी नेपाली जनतालाई मालिक बनाएर छाड्ने छौँ’, उनले भने, ‘प्रतिक्रियावादीले अनेकौँ घृणित चाल चालेका छन् । तर केही गर्न सक्दैनन् । तिनीहरूलाई तह लगाउने क्षमता अब हामीसँग हुन्छ । समाजवाद उन्मुख भन्दै जनतालाई ढाँट्नेलाई कि त हामीसँगै हुनेछ कित पछाडि धकेलिने छ ।’

गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्ने बताए । ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौं । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौं । हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्नेछौं,’ गौतमले भने, ‘हामी संसारका मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौं । यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’

उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने जिकिर पनि गरे । ‘४ वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो । म लागेपछि समाजवाद सुरु हुन्छ ।  म एक्लै होइन, तपाईंहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ,’ गौतमको भनाइ थियो ।

उनले थपे, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’

गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताए । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताए । उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए। उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको बताए ।