April 18, 2026, Saturday
२०८३ बैशाख ५

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

धनगढी । छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दिएको जानकारी अनुसार कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । सर्पले डसेर उनको स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा ज्यान गएको हो।

डीएसपी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे उनको मृत्यु भएको डीएसपी बोहराले बताए । उनलाई छाउगोठमा सुतेका बेला सर्पले डसेको विषयमा भने आधिकारिक जानकारी नभएको बोहराले बताए।

कमला आउजीका श्रीमान् भारत बस्छन्। घरमा एक्लै तीन सन्तान हुर्काइरहेकी उनको सर्पको टोकाइबाट ज्यान गएको हो । सुरुमा घरमै सुतिरहेको अवस्थामा सर्पले टोकेको बताइए पनि महिनावारी अवस्थामा छाउगोठमा  सुतिरहेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ । 

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले भने कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिए । नगर प्रमुख ओझाले नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य नभएको बताए।

सुदूरपश्चिम प्रदेशमा छाउ गोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहेपनि अझै महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भने भएको छैन ।