May 3, 2026, Sunday
२०८३ बैशाख २०

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन, असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ। शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो।

शर्मा दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उनको निधन भएको हो।

पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्। ६२ वर्षीया शर्माका दुई छोरी छन्। उनको आइतबार अन्त्येष्टि गरिने पत्रकार लम्सालले जानकारी दिएकी छन्।

असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा

पूर्वनिर्वाचन आयुक्त र पूर्वपत्रकार इला शर्माको हृदयघातका कारण भएकाे निधनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दु:ख व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले एक असल साथी गुमाएको बताउँदै दुःख व्यक्त गरेकी हुन्। 

उनले लेखेकी छिन्, ‘निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको असामयिक निधनको खबरले धेरै मर्माहत भएकी छु। उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको शान्तिको कामना गर्छु। साथै यो दुखद समयमा सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्छु। नेपाली पत्रकारिता र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय एक असल साथी गुमाउनुपर्दा मलाई धेरै पीडा भएको छ।’