May 3, 2026, Sunday
२०८३ बैशाख २०

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकता गर्ने सहमति, साउन २ गते घोषणा हुने

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

२०७७ सालमा नेकपा विभाजनका बेला गौतमले छुट्टै अभियानको घोषणा गर्दै नेकपा एकता अभियान चलाएका थिए । भने नेकपा विभाजनपछि एमाले र माओवादी अलग हुदाँ २०७८ मा माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । त्यसयता कहिले एमालेसँग त कहिले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउँदै आएका गौतम अन्ततः एकीकृत समाजवादीसँग एकता गर्न तयार भएका हुन् ।

दुबै नेताले सहमति पत्रमा हस्ताक्षर गरेसंगै सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख गरेका छन् । ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम,रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरियो’, अध्यक्ष नेपाल र गौतमबिच भएको सहमतिमा उल्लेख छ ।