April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘सुदूरपश्चिम स्थानीय सेवा ऐन २०८१’ प्रति हेल्थ असिस्टेन्ट एसोसिएसनको कडा आपत्ति, ऐन संशोधनगरी तह वृद्धि र पदस्थापन रोक्न माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (HAAN) ले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। सुदूरपश्चिम स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ प्रति कडा आपत्ति जनाउँदै एच.ए.ए.एन. सुदुरपश्चिम प्रदेशले आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

सुदूरपश्चिम प्रदेशले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ नेपालको संविधान, संघीय कानुन र लोक सेवा प्रक्रियाविपरीत भएको आरोप लगाएको छ। एच.ए.ए.एन. सुदुरपश्चिम प्रदेशले नेपालको संविधानको धारा ५७(६) मा स्पष्ट व्यवस्था भएपनि ऐनले त्यसको उल्लंघन गर्दै केही निश्चित कर्मचारी समूहको स्वार्थपूर्ति गर्ने गरी सुदूरपश्चिम स्थानीय सेवा ऐन २०८१ बनाएको आरोप लगाएको छ।

ऐनको दफा ९(४) मा संघीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो, पाँचौं र छैटौं तहका कर्मचारीमध्ये ५ वर्ष सेवा गरेका कर्मचारीलाई एकपटकका लागि एक तह वृद्धि गरिने व्यवस्था छ, त्यो व्यवस्थामाथि संघको गम्भीर आपत्ति छ।

सबैभन्दा विवादित विषय भनेको चौथो तहबाट सेवा प्रवेश गरेका अहेव (अनमी) लाई तह वृद्धि गरी सातौं तहको जिम्मेवारी दिँदै ‘जन स्वास्थ्य अधिकृत’ बनाउने प्रयास हो। एच.ए.ए.एन का अनुसार स्थानीय तहले नियमावली नबनाउँदै सात दिनको सूचना निकालेर समय नपुग्दै रातारात अहेवहरूलाई जन स्वास्थ्य अधिकृतको जिम्मेवारी दिएको जनाइएको छ ।

संघले पाँचौं तहबाट सेवा प्रवेश गरेका र स्नातक उपाधि प्राप्त कर्मचारीको अवमूल्यन भएको, मनोबल गिराइएको, र स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार यस्तो तह वृद्धि नै गर्न नमिल्ने अवस्थालाई प्रदेश सरकारले उल्लंघन गरेको एच.ए.ए.एन. को दाबी छ। यस विषयमा एच.ए.ए.एन. ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहसमक्ष ज्ञापन पत्रसमेत बुझाएको छ।

संघले लोक सेवा आयोगको प्रतिस्पर्धात्मक प्रक्रियाबाट मात्र ‘जन स्वास्थ्य अधिकृत’ जस्तो पद पूर्ति गर्नुपर्ने बताउँदै अहिलेको ऐनले प्रक्रिया र योग्यताको मर्यादा तोडेको जनाएको छ। एच.ए.ए.एन. ले यस्तो कानुनले पदस्थापनमा द्वन्द सिर्जना गरेको दाबी गरेको छ।

एच.ए.ए.एन. ले ऐन तत्काल संशोधन गरी गैरकानुनी तह वृद्धि र पदस्थापन रोक्न माग गरेको छ। यस विषयमा गम्भीर ध्यान नदिइएमा सुदूरपश्चिमभरका अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहका स्वास्थ्य शाखाहरूको सेवा ठप्प पार्नेसमेत हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (एच.ए.ए.एन) सुदुरपश्चिम प्रदेशले चेतावनी दिएको छ।