April 18, 2026, Saturday
२०८३ बैशाख ५

विश्वासको मत लिने, नलिने विषयमा छलफल भइरहेको छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी छलफल भइरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको उनले बताएका हुन।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संसदीय व्यवस्थामा सत्ता साझेदार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पद्मा रहि रहन सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, नाउपा सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहि रहेकाले विश्वासको मत लिन नपर्ने चर्चा पनि चलिरहेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर गठबन्धन सरकार बनाएको बताए । उनले सरकारमा अन्य पार्टीलाई पनि सहभागी गराइएको भन्दै,“सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी मन्त्रीपरिषद्मा फर्किने मलाई विश्वास छ ।”

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर सरकारकै विषयमा कुराकानी गरेको मुख्यमन्त्रीको भनाइ थियो ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि असार २२ गते मुख्यमन्त्री शाह आफैले पनि बर्दियामा संरक्षक चौधरीसंग भेटघाट र छलफल गरेकाथिए ।