आफूनिकट नेता कार्यकर्ता अनुशासन कारबाहीमा परेपछि आन्तरिक छलफलमा शेखर, कारबाहीमा को-को परे ?

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ सम्म बसेको बैठकले २०७९ को तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असयोग गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको हो।
तीनै तहको चुनावमा पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेदवारलाई असयोग गरेको भन्दै १८ जना नेताकार्यकर्तालाई कारबाही गरेपछि नेता शेखर कोइराला आन्तरिक छलफलमा जुटेका छन्। नेताकार्यकर्ता कारबाही गरेपछि कोइराला समूहले छुट्टै भेला बोलाएको छ।
संस्थापन इतर समूहका नेताहरुलाई छानिछानि बहुमतको आधारमा नेताहरूमाथि कारबाही गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाइरहेका छन्। आफ्ना पक्षका नेता कार्यकर्तालाई संस्थापन पक्षले कारबाही गरेको भन्दै कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा नेताहरू छलफलमा जुटेका हुन्।
बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित कोइराला पक्षका केन्द्रीय सदस्यहरु र केही सांसद उपस्थित भएका छन्। एक नेताले भने,‘समसामयिक राजनीतिबारे छलफल गर्न भेला जुटेका हौं। हाम्रा नेतामाथि बहुमतका आधारमा अनुशासनको कारबाही गरिएको छ। यसले पार्टी भित्र संकट र असन्तुष्टि बढेको छ।’
असार १३ मा मात्र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र ठूलो अन्तरघात गर्ने प्रवृत्ति हाबी भएको भन्दै त्यस्तालाई कारबाही गर्नुपर्ने धारणा राखेका थिए । देउवाले भनेका थिए, ‘पार्टीलाई एकढिक्का बनाउने मेरो इच्छा छ । हाम्रो भित्र के छ भने टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । यो रोग सुर्धान सबै लाग्नुपर्छ ।’ उनले अब कांग्रेसले अन्तरघात गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको संकेत त्यतिबेलै दिएका थिए ।
अर्कोतिर सोमबारसम्म करिब १ हप्ता लामो बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि निर्वाचनका समयमा अन्तरघात गर्नेलाई अहिलेसम्म पार्टीले कुनै कारबाही नगरेको भन्ने विषय जोडतोडले उठेको थियो । अनुशासन समितिको बैठकमा निर्वाचनको बेला देशभर भएका अन्तरघातको कुरा उठेको थियो । मकवानपुरमा भएको अन्तरघातको विषय थियो । २०७९ मा भएको निर्वाचनमा मकवानपुर–१ बाट राप्रपाका दीपकबहादुर सिंह विजयी भएका थिए । उनले दुई हेबिवेट उम्मेदवारहरू नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।

निर्वाचनमा सिंहले २७ हजार ८ सय १६ मत ल्याउँदा उपाध्यायले २५ हजार ४ सय ३४ मत ल्याएकी थिइन् । निर्वाचनमा पराजय भोगेपछि उपाध्यायले पार्टीमा तत्कालै उजुरी दिएकी थिइन् । उनले बागमती प्रदेश कांग्रेस समितिको सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँले अन्तरघात गरेको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा समेत उजुरी गरेकी थिइन् । त्यसले पनि अनुशासन समिति बैठकमा यो विषयले चर्चा पाएको थियो । अनुसासन समितिका सदस्यद्वय सञ्जय गौतम र राजीव कोइरालाले बानियाँले अन्तरघात गरेको विषय उठाएपछि कारबाहीसम्मको चर्चा चलेको थियो । आनन्द ढुंगानाको संयोजकत्वमा बनेको अनुशासन समितिमा पाँचजना सदस्य छन् ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि पार्टी भित्रबाट अन्तरघात हुन थालेको भन्दै प्रश्न उठाएका थिए ।
निजामती कर्मचारीसम्बन्धी विधेयकको कुलिङ अफ पिरियडमा भएको बदमासीमा आफूले कुनै गल्ती नगरे पनि पार्टीभित्रैबाट अन्तरविरोध भएको भन्दै आपत्ति जनाएका थिए ।
अर्का केन्द्रीय सदस्य विनोद चौधरी शेखर कोइरालाप्रति खनिएका थिए । बैठकमा बोल्ने क्रममा कोइरालाले चौधरी केन्द्रीय सदस्य उम्मेदवार बन्न योग्यता र मापदण्डका विषयमा प्रश्न उठाएका थिए । कोइरालाको भनाइको प्रतिवाद गर्दै चौधरीले सारा विधि, पार्टी नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिप्रेक्ष्यको विश्लेषण र त्यसपछिको निर्णयअनुसार अघि बढेको दाबी गरे ।
आफूलाई आमनिर्वाचनमा हराएर हृदयेश त्रिपाठीलाई कोइरालाले सघाएको आरोप पनि लगाए । चौधरीले भने, ‘मलाई हराउन हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसीन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले कसरी पार्टीलाई हाँक्न सक्छ ? ’
कांग्रेस विधानअनुसार केन्द्रीय सदस्यको उम्मेदवार हुन १० वर्ष क्रियाशील सदस्य हुनुपर्ने व्यवस्था छ । त्यही विषय निकालेर कोइरालाले अनुशासनको कारबाही नेता हेरेर गरिएको गुनासोसहित चौधरीको नाम बैठकमा उल्लेख गरेका थिए । यहीबीचमा अनुशासन समितिले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ । कारबाही निष्कासन र निलम्बन गरी दुई प्रकृतिको गरेको छ ।
निर्णयमा भनिएको छ, ‘उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो र भिडिओलगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणहरूका आधारमा तपसिलबमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन र निलम्बन गर्ने निर्णय गरिएको छ ।’
कारबाही गरेकाहरूलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिएको अनुशासन समितिले जनाएको छ । ३ तहमा राखेर कारबाही गरिएको समितिका अध्यक्ष आनन्द ढुंगानाले बताए । उनले भने, ‘यसपटक १८ जनालाई कारबाही गरिएको छ ।’
कांग्रेस अनुशासन समिति पाँच सदस्यीय छ। संयोजक ढुंगाना र सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला छन् । समितिमा तीन जना सभापति शेरबहादुर देउवा निकट छन् भने दुई जना नेता कोइरालानिकट छन्।
चुनावमा असहयोग गरेका नाममा पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी सदस्यबाट तीन महिना, ६ महिना र एक वर्षसम्म निलम्बन तथा निस्कासन गरिएको विषयमा केन्द्रीय समितिमा पनि नेताहरूले समर्थन र विरोधमा धारणा राखेका थिए।
एक वर्षका लागि कारबाही गरिएकाहरू तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता रहेका छन् ।
त्यसैगरी, ६ महिनाका लागि कारबाही गरिएकाहरूमा धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका–१ का रामबावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव, कास्की जिल्ला–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलालीको धनगढी उपमहानगरपालिका–२ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका–१ का पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि रवीन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका–१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका–५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई ३ महिनाका लागि कारबाही गरिएकामा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी छन् ।





प्रतिकृया दिनुहोस्