April 18, 2026, Saturday
२०८३ बैशाख ५

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर । रुख कटान सकिएसँगै महाकालीपारिको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गौरीशंकर सामुदायिक वनमा रूख कटानको काम सकिएसँगै निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको हो ।

भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–१ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रूख काटने काम सकिएको हो । सुरुमा सामुदायिक वनको ४१ हेक्टर क्षेत्रफलमा रहेका १ हजार ७ सय २ रूख काट्नुपर्ने भए पनि छपान गरिएका १ सय ९ रूख चोरी भएपछि काट्नुपर्ने रूखको संख्या कम भएको हो ।

काठसमेत चोरी हुन सक्ने भएकाले कटान गरिएको काठ निकुञ्जको पिपरैया पोस्टमा घाटगद्दी गरिएको छ । ‘अब रूख कटानको काम सकिएपछि फिल्ड खाली भएको छ, छिट्टै निर्माण प्रक्रिया सुरु हुन्छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘एक किसिमले काम सुरु भयो भन्दा हुन्छ, दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यासपछि औपाचारिक रूपमा काम सुरु हुनेछ ।’

सुक्खा बन्दरगाह निर्माणको ठेक्का पाएको कम्पनीले सर्भेको काम सुरु गरिसकेको छ । रूख कटानको काम सकिए पनि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचारबाट जानकारी गराइसकेको गजुरेलले जनाए । अब परराष्ट्र मन्त्रालयमार्फत भारतसँग पत्राचार हुनेछ ।

त्यसपछि संयुक्त रूपमा शिलान्यासदेखि निर्माण प्रक्रिया अघि बढ्ने उनले बताए । भारतले सुक्खा बन्दरगाह निर्माणका लागि ३ अर्ब ८० करोड नेपाली रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । आगामी ३ वर्षभित्र काम सक्ने लक्ष्य राखिएको गजुरेलको भनाइ छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको चर्चा सुरु भएको झन्डै दुई दशक पुग्न लागेको छ । यसबीचमा धेरै अध्ययन र अनुगमन पनि भएका छन् । ढिलै भए पनि सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढ्ने भएपछि स्थानीय खुसी देखिन्छन् । सुक्खा बन्दरगाह निर्माणपछि यहाँको नाकाबाट भारतसँगको व्यापार व्यवसाय बढ्ने अपेक्षा गरिएको छ ।

सुक्खा बन्दरगाहकै पूर्वाधारका रूपमा महाकाली नदीमा ४ लेनको पक्की पुलसँगै पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिका–१ मलेरिया नालासम्म ८ किलोमिटर ६ लेनको पहुँचमार्ग निर्माण भइसकेको छ । पहुँचमार्गको केही भाग कालोपत्र हुन बाँकी छ । कान्तिपुरबाट