June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार

धनगढी । कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–१ स्थित गोदावरी नदीमा आएको आकस्मिक बाढीका कारण टापुमा फसेका कञ्चनपुरको झलारीका ६ जनाको सकुशल उद्धार गरिएको हो ।

खोलाको बहाव बढेका कारण खोला तर्न नसकेपछि नेपाली सेनाको देवीदल गणको टोलीले सकुशल उद्धार गरेको हो। अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा सेनाको टोलीले खोलामा फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको हो।

बुधवार श्राद्ध गर्न गएका ती नागरिकहरू काठेपुल नजिक नदीको बिच भागमा फसेका थिए।

जिल्ला विपत् व्यवस्थापन को टीम, प्रमुख जिल्ला अधिकारी, गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टको नेतृत्वमा गएको उद्धार टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा उनीहरूलाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले जानकारी दिए।