कांग्रेस सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्।
सभापति देउवाले आज सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध पनि गरेका छन्। उक्त बाढीमा परेर हालसम्म छ चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन् भने नौ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
चीनतर्फ अबिरल वर्षापछि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमार्फत दुख व्यक्त गर्दै उद्धार र राहतमा लाग्न आग्रह समेत गरेको छ।
विज्ञप्तीमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। ‘रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले हामी सबैलाई दुःखीत र गम्भीर बनाएको छ। ३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ। नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ। यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तीमा उल्लेख छ।
कांग्रेसले एक्यबद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजनाका साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ। विज्ञप्तीमा भनिएको छ, ‘वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत बर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै/स्मरण गराउँदै नेपाली कांग्रेस एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गर्दछ। नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गर्दछ।’






प्रतिकृया दिनुहोस्