सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो ।
१ असारमा आर्थिक मामिला मन्त्री बहादुरसिह थापाले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएका थिए । बजेटमाथिको छलफल सकिएपछि सभामुख भण्डारीले बजेटसँग सम्बिन्धत विधेयकहरु सर्वसम्मतिले पास भएको घोषणा गरेका हुन् ।
१५ गतेदेखि बजेटमाथि छलफल सुरु भएको थियो। बजेटमाथिको छलफलमा सतापक्ष र प्रतिपक्षका २७ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए । प्रायजसो प्रदेश सभा सदस्यले विचौलिया मार्फत योजना खरिदबिक्री गरेको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका थिए ।
छलफलमा बजेटको आलोचना गर्दै छानबिन गर्न माग गरेका सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुको समर्थनमा बजेट पास भएको छ ।




प्रतिकृया दिनुहोस्