April 18, 2026, Saturday
२०८३ बैशाख ५

हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत् आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीको सामना गर्नसक्छौं : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरुको सामना गर्नसक्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताए ।

यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशिलता विकास गर्नु नेपालको लागि चुनौतिपूर्ण विषय बनेको समेत बताए ।

उनले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्न आवश्यक रहेको बताए । यसका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधिकरण, भौतिक सप्मती संरक्षण र प्रवर्द्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुमा पहुँच कायम गर्दै उत्थानशिलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपालबाट