May 2, 2026, Saturday
२०८३ बैशाख १९

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्नेगरि तयारी गरेको छ । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो ।

बोर्डले नियमित तालिका अनुसार असारको पहिलो साता एसईईको नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

‘परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले शिक्षकहरूले २९ दिन आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ढिलाई भएको बताए। ‘अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन।’ उनले भने- अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ।’

‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।