May 3, 2026, Sunday
२०८३ बैशाख २०

भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्री लेखकसँग मात्रै रिलेटेड छैन: प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्री रमेश लेखकसँग मात्रै रिलेटेड नभएको बताए छन् । उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गरेका हुन ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए । उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । सरकारको छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरे ।

प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । उनले भने,’नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् ।’ प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताए ।

प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताए । 

सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने  भएकोले पनि सहमतिमा जानुपरेको बताए । उनले भने – ‘अहिले हामीले एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्नेछ, लाखौं शिक्षकहरुको माग अनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ । टीआरसीसँग सम्बन्धित कयौं विषय अगाडि बढाउनुपर्ने छ। यस्तो बेलामा सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले सहमतिमा गएका हौँ ।’

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले चेतावनीको भाषा बोलेकोबारे पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे । ‘सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्‍यो, संरचना बन्नुपर्‍यो। त्यो कुरामा सहमति भएको छ’  प्रचण्डले भने।

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई उनले सोझै इन्कार गरे । उनले भने–’यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्। त्यस्तो केही  होइन। भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’