सुदूरपश्चिम प्रदेशमा अहिले सम्म १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, राखिँदैन होल्डिङ सेन्टरमा

धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण देखा परिरहेको छ । सिमानाकामा भारतबाट फर्किरहेका केही व्यक्तिलाई कोरोना सङ्क्रमण देखा परेपनि सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउने गरिएको पाइन्छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न नाकामा भारतबाट फर्किरहेका हरुलाई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिए पनि सङ्क्रमितलाई चेकजाँच गरेर घर पठाउदा समुदायमा कोरोना फैलिन सक्ने आकलन गरिन थालिएको छ । जब कि नाकामा होल्डिङ सेन्टर छन् तर त्यहाँ सङ्क्रमित बसाईदैन ।
सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरा नाकामै छुट्टै होल्ड गर्नका लागि होल्डिङ सेन्टर बनाइएको छ ।
सरकारले आर्थिक वर्ष २०७८/७९ मा निर्माण गरेको होल्डिङ सेन्टरहरु जीर्ण बन्दै गएको छन् । होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन् । प्रयोगमा नआएपछि यी संरचना खुइलिनुका साथै जीर्ण बनिरहेका छन् ।
भारतबाट फर्केका सङ्क्रमित व्यक्तिलाई सिधै घर पठाउँदा अरूमा कोरोना सर्ने जोखिम रहेको छ । त्यस्ता व्यक्तिलाई एक हप्तासम्म होल्डिङ सेन्टरमै राखेर उनीहरूको स्वास्थ्योपचार गर्न सके अरूमा सर्ने जोखिम नहुने स्थानियहरु बताउछन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टरलाई प्रयोग गर्ने सन्दर्भमा कुनै पनि निर्देशन नआएको बताए । कोरोना सुरु भएपछि विगतमा यही नाकाबाट सबैभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्केका थिए । भारतबाट फर्किने हरुबाटै समुदायमा कोरोना फैलिएको थियो ।
जेठ २१ गते सबैभन्दा पहिले गौरीफन्टा नाकामै तीन जनामा कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयले जेठ २१ गतेदेखि हालसम्म प्रदेशमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
भारतबाट फर्किने शङ्कास्पद व्यक्तिको नाकामै परीक्षण गर्ने गरेको स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशी बताउछन्। प्रदेशको मुख्य चार नाका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र पुलघाट नाकामा हेल्थ डेस्क स्थापना गरेर शङ्कास्पद व्यक्तिको परीक्षण गर्ने कार्य भइरहेको उनले जानकारी दिए।
जोशीका अनुसार चार वटै नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ३५० वटा किट बाँडिएको छ । मुख्य नाकाहरू गौरीफन्टा र गड्डाचौकीमा अलि बढी र दुई वटा नाकामा आवश्यकतानुसार किट दिइएको छ ।





प्रतिकृया दिनुहोस्