May 3, 2026, Sunday
२०८३ बैशाख २०

आज पहाडी भू-भागमा भारी वर्षाको सम्भावना, पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव कस्तो छ ?

काठमाडौँ । आज पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। नेपालमा मनसुन भित्रिएको १५ दिन बितिसक्दा पनि मनसुनी वायु देशभरि विस्तार भइसकेको छैन।

मनसुनी वायु त्यति शक्तिशाली बन्न नसक्दा र बंगालको खाडीमा न्यूनचापीय प्रणाली पनि नबन्दा कोशीबाट अन्यत्र फैलन समय लागेको हो।यद्यपि पछिल्लो चौबीस घन्टामा देशका पहाडी र तराई भूभागका अधिकांश स्थानमा वर्षा भएको छ। दाङको बेलझुन्डीमा अन्यत्रभन्दा बढी पानी परेको छ। त्यहाँ ९९.६ मिलिमिटर वर्षा मापन भएको छ।

बझाङको थलेरमा ६५.२ मिलिमिटर, सल्यानको सल्यान बजारमा ४६.६ मिलिमिटर, प्यूठानको हंसपुरमा ४०.४ मिलिमिटर वर्षा भएको छ।बितेको ६ घन्टायता भने वर्षा नभएको महाशाखाको वेबसाइटले देखाउँछ।

शनिबार बिहान गण्डकी प्रदेशका केही स्थानमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षासमेत भैरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।