भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकले दिए सदनमा जबाफ, ‘मेराविरुद्ध नक्कली पीडित खडा गरियो’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे शुक्रबारको प्रतिनिधि सभा बैठकमा आफना धारणा राखेका छन् । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी र वेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबीच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधि सभा बैठकमा धारणा राखेका हुन।
गृहमन्त्री लेखक आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको विषयमा सहयोग गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा जवाफ दिँदै उनले भने, ‘ अनुसन्धानमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
आफ्नो कार्यकालमा भिजिट भिसामा धेरै मानिस गए भनेर भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै उनले भने, ‘भिजिट भिसामा केही समस्या छन् तर, यो समस्या मेरो कार्यकालमा सुरु भएको होइन ।’
आफ्नो विरुद्धमा षड्यन्त्रमूलक ढङ्गले आक्रमण गर्ने प्रयास भएको उनले बताए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका यसअघिका प्रमुख सहसचिव तीर्थ भट्टराईलाई अख्तियारले बोलाएको कुरा आफूले सञ्चार माध्यमबाट थापा पाएको उनले बताए । उनले भने, ‘यो काममा मेरो संलग्नता छैन ।’
आफू मन्त्री हुनुअघि पनि विदेशी नागरिकहरू त्रिभुवन विमानस्थलबाट जाने गरेको उनले स्मरण गराएका छन् । उनले भने, ‘म न्यूनतम नैतिक आचरणमा बस्ने व्यक्ति हुँ ।’
लेखकले आफूविरुद्ध नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जिकिर समेत गरे । उनले आफूविरूद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताए। कुन पार्टीको कार्यालयमा यस्तो कार्य भएको हो भन्नेबारे उनले केही खुलाएनन्। तर यस्तो गतिविधि गर्नेमाथि कारबाही गरिने उनको भनाइ थियो।
‘केही पार्टीका कार्यालयहरूमा नक्कली तथाकथित पीडितहरूलाई बोलाएर जाहेरी लेखेर मेरा विरूद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन्। कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ,’ गृहमन्त्री लेखकले भने, ‘यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। र यस्ता अपमानजनक कार्य, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ। तपाईंका पार्टी कार्यालयहरू कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बन्दैछन्। यसमा तपाईंहरू सचेत हुनुस्, किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ।’
उनले आफूविरूद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास भइरहेको पनि बताएका थिए। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसहित विपक्षी दलहरूले सुरूमा गृहमन्त्रीको राजीनामा र छानबिनको विषय उठान गर्दै प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका थिए। तर माओवादी, एकीकृत समाजवादीलगायत विपक्षी दल उक्त मुद्दाबाट पछि हटेका थिए भने रास्वपा र राप्रपा गृहमन्त्रीको राजीनामा र छानबिन समितिमा अडिग छन्।
माओवादी केन्द्र भने एमालेसँग २ बुँदे सहमति गर्दै शुक्रबारदेखि सदन खुलाउन सकारात्मक भएको थियो। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका थिए ।

संसद्मा अब प्रतिपक्षी पनि दुई कित्तामा
संसद्मा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।
यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नेदेखि छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दासम्म विपक्षी दलहरू सँगै थिए । माओवादी थप लचक भएर सत्तापक्षसँग सहमति गर्न पुगेपछि प्रतिपक्षी दुई कित्तामा बिभाजित हुन पुगेका हुन् ।
रास्वपा र राप्रपाले आन्दोलन जारी रहने बताएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्ने छानबिन उचित नरहेकाले विरोध गर्ने बताए । रास्वपाले छानबिन समिति किटान नगरेकाले आन्दोलन जारी रहने बताएको छ ।





प्रतिकृया दिनुहोस्