April 18, 2026, Saturday
२०८३ बैशाख ५

सेती प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र स्थापना, अब सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने : डा. पाण्डे

धनगढी । सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशमै पहिलोपटक नि:सन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पतालले स्थापना गरेको निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् ।

निःसन्तान उपचार केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए । उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेको बताए ।

सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न स्थानमा जाने गरेकोमा अब उक्त बाध्यता अन्त्य भएको बताउँदै पाण्डेले सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने बताए ।

प्रादेशिक अस्पतालको स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डा. खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धि समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।

निःसन्तान सम्बन्धि कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाटनिःसन्तानपन भएका दम्पतीले लाभ लिन सक्ने उनले बताए ।

उक्त सेवा अन्तरगत पुरूष र महिलाको समान्य स्तरको प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषको विर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनिय रूपमा सेवा प्राप्त गर्न सक्ने डा.भट्टले बताए ।

यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै भट्टले भविष्यमा थप सेवा विस्तार गर्न सकिने बताए । उनका अनुसार प्रादेशिक अस्पतालले निःसन्तानपन भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउनेछन् ।

विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । बाँझोपनको समस्या महिला र पुरूष दुवैमा हुने चिकित्सक बताउँछन् ।