शुक्लाफाटा नगरपालिकाले गर्भवती-सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटामा गर्भवती–सुत्केरीलाई नगरपालिकाले पोषण सामग्री उपलब्ध गराउँदै आएको छ। शुक्लाफाटा नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत वडा कार्यालयबाट सुत्केरीलाई अण्डा, चना, साबुन, नुन र रुमाल जस्ता सामग्री उपलब्ध गराउँदै आएको हो ।
यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउँछन्। ‘चालु आर्थिक वर्ष २०८१÷८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ’, उनले भने, ‘सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलब्ध गराइसकेका छौँ ।‘
चना र अण्डाले शारीरिक शक्ति, स्तनपानको गुणस्तर, रगतको मात्रा र आमा–शिशु दुवैको पोषण प्रभावकारी हुने गरेको पाइएको छ, भने साबुनले सरसफाइमा सजगता, सङ्क्रमणको जोखिम न्यूनीकरणमा टेवा पु¥याउने स्वास्थ्य सहायक धामी बताउँछन्। नुनले आवश्यक आयोडिन पूर्ति गर्ने कार्यसँगै थाइराइड जस्ता रोग रोकथामका लागि प्रभावकारी भूमिका खेल्छ। रुमाल शिशुको स्याहारमा उपयोगी हुन्छ।
‘सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ भन्ने धेरै महिलालाई थाहा थिएन, वडा कार्यालयले पोषण सामग्री दिन थालेपछि मात्रै यस्तो सामग्रीको उपभोग गरे शिशु र आमाको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिन्छ, भन्ने बुझ्यौँं’, पोषण सामग्री लिनुभएकी सीतादेवी डगौराले भनिन्, ‘वडाको सानो सहयोगले चेतनाको ढोका खोल्ने काम गरेको छ।’
साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नुनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताइन। कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढ्नुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। रासस





प्रतिकृया दिनुहोस्