June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका चार सीमा नाकामा कोरोना परीक्षण सुरु

कञ्चनपुर । भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको जानकारी दिएका हुन।

सूचना अधिकारी जोशीका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्।

‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पुर्याइ परीक्षण कार्य भइरहेको छ,’ जोशीले भने, ‘किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ।’

हाल जुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरिफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएका छन्। सीमा नाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिए। उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा नाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो। यही जेठ २१ गते  गौरिफण्टा सीमा नाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षणको कार्य सुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमा नाकामा जाँचको व्यवस्था गरिएको छ। यही जेठ २१ देखि २८ गतेसम्म सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेनको नतिजा पोजेटिभ आएको छ।

गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टले यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको छ। ‘शङ्कास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ,’ उनले भने, ‘हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ।’