खैरो हिरोइनसहित ६ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई घोडाघोडी नगरपालिकाबाट लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
घोडाघोडी नगरपालिका–१ सुखडस्थित बाँझो घरमा लागूऔषध सेवन गरिरहेको सूचना प्राप्त भएपछि प्रहरीले त्यहाँ पुगेर उनीहरूको शरीर खानतलासी गर्दा खैरो हिरोइनजस्तो देखिने २१ ग्राम ८२० मिलिग्राम धुलो पदार्थ फेला परेको जनाएको छ।
घोडाघोडी नगरपालिकाको लक्ष्मीपुरका २० वर्षीय उमेशनाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षीय दिनेशबहादुर विष्ट तथा साडेपानीका १८ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, गोदावरी नगरपालिका–५ स्थित गेटा क्षेत्रबाट शंका लागेर जाँच गरिएको कमल रिजाललाई पनि प्रहरीले पक्राउ गरेको छ। धनगढीको मनहरा बस्ने २० वर्षीय रिजालको साथबाट खैरो हेरोइनजस्तो देखिने ५ ग्राम १८० मिलिग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेकाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस्